Thursday, September 11, 2014

दुई ठूला प्रतियोगिताको तयारीमा व्यस्त नेपाली क्रिकेट मिति : २०७१ भदौ, २६ बिहीबार [2349 पटक पढिएको] - See more at: http://www.annapurnapost.com/en/news/sports/13542/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%A0%E0%A5%82%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%9F.htm#sthash.EG6B8lqb.dpuf

काठमाडौं : नेपाली पुरुष क्रिकेट टोलीको प्रशिक्षण समाल्न दुई साताअघि काठमाडौं आइपुगेका पुबुदु दासानायकेले आफ्नो पहिलो प्राथमिकता आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन भएको बताएका थिए। नेपाली क्रिकेटको भविष्यका लागि डिभिजन तीनको महत्त्व उनले बुझेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा माथिल्लो स्तरको प्रतियोगिता खेल्न डिभिजन तीन अर्थपूर्ण छ। 'डिभिजन तीनपछि डिभिजन दुई प्राथमिकतामा छ। त्यसैले अबको ६/७ महिना हामीले निकै मेहनत गर्नुपर्ने छ। यसबीचमा हामीले कन्जुस्याइँ गर्‍यौं भने तीनचार वर्ष पछाडि पर्नेछौं', नेपाल आगमनकै क्रममा पुबुदुले भनेका थिए।
डिभिजन तीनभन्दा सुरु हुनुअघि नेपाली टोली दक्षिण कोरियाको इन्चोनमा अर्को महिना एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ। यतिबेला दासानायकेको ध्यान पनि एसियाडमै केन्द्रित छ। उनले यो प्रतियोगिताको महत्त्व पनि बुझेका छन्।
नेपालले केही महिनाअघि खेलेको आईसीसी टीट्वेन्टी विश्‍वकपमा गतिलो प्रदर्शन गरेपछि टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। यो ऐतिहासिक सफलतापछि नेपालले हालसम्म टीट्वेन्टी प्रतियोगिता खेल्ने अवसर पाएको छैन। त्यसयता आगामी एसियाड नै नेपालको पहिलो टीट्वेन्टी सहभागिता हुनेछ।
एसियामा टेस्ट मान्यताप्राप्त टोली पनि सहभागी हुनेछन्। आईसीसीले विशेष व्यवस्था गरेर प्रदान गरेको टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यतालाई प्रभावशाली प्रदर्शन गरेर न्याय गर्नुपर्ने चुनौती नेपालसामु छ।
प्रशिक्षक पुबुदुले पनि एसियाडमा नेपाल फाइनलसम्म पुग्ने सम्भावना देखेका छन्। समूह 'बी' मा रहेको नेपालले पहिलो चरणमा कुवेत र मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
समूहको विजेता बन्न सके नेपालले क्वार्टरफाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता बन्यो भने क्वार्टरफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाउनेछ। अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्न सके नेपालले अन्तिम चारमा पनि एसोसिएट टोलीसँग खेल्नु पर्नेछ।
'पहिलो चरणमा समूह विजेता बन्न सके फाइनलमा मात्र टेस्ट टोलीसँग खेल्नुपर्ने हुन्छ', एसियाडको तयारीमा व्यस्त दासानायकेले भने। नेपालले टीट्वेन्टीमा एसियाका सबै एसोसिएट राष्ट्रलाई हराइसकेको छ।
एसियाडमा प्राप्त हुने सफलताले डिभिजन तीनका लागि टोलीको मनोबल समेत उच्च बनाउनेछ। आगामी एसियाड असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। क्रिकेटका खेल असोज ११ देखि १७ गतेसम्म चल्नेछ।
डिभिजन तीन भने कात्तिक ९ गतेदेखि युगान्डामा सुरु हुँदै छ। अहिले ५० ओभर स्वरूपको डिभिजन तीन र २० ओभर स्वरूपको एसियाडका लागि नेपालले एकसाथ तयारी गरिरहेको छ।
डेढ साताअघि प्रशिक्षण सुरु गरेका दासानायकेले इन्डोर अभ्यास र अभ्यास खेलमार्फत टोलीलाई तयार पारिरहेका छन्। उनले टोलीले सही आकार लिइरहेको बताए। 'टोलीका सबै खेलाडी फिट हुनुपर्छ र त्यसका लागि हामी प्रयास गरिरहेका छौं।
हरेक खेलाडीले मिहिनेत गरिरहेका छन् र मैले अपेक्षा गरेअनुसार भइरहेको छ', दासानायकेले भने। उनले मिडयिम पेस बलिङमा समस्या भएको बताए। 
'हाम्रो स्पिन यसपटक पनि राम्रो हुनेछ, तर मिडियस पेसमा जितेन्द्र घाइते भएकाले केही समस्या छ', दासानायकेको भनाइ छ।
कप्तान पारस खड्का पनि टोलीले एसियाडमा राम्रो गर्ने बताउँछन्। 'सबै खेलाडी राम्रो गर्न प्रयासरत छन्। हाम्रा खेलाडीमा पनि उच्चस्तरको क्षमता छ', पारस भन्छन्। एसियाड क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो।
यसअघि सन् २०१० मा चीनमा भएको एसियाडमा क्रिकेटलाई पहिलोपटक समावेश गरिएको थियो। नेपाली पुरु ष क्रिकेट टोलीले त्यतिबेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
आरिफ र करण भारत जाने
नेपाली मिडियम पेस बलर आरिफ शेख र करण केसीले भारतको मुम्बईमा दुई साता प्रशिक्षण लिने भएका छन्। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले अलराउन्डर आरिफ र नयाँ खेलाडी करणका लागि भारतमा अनुभवी प्रशिक्षकसँग प्रशिक्षणको व्यवस्था मिलाएका हुन्।
आरिफ र करण दुवै डिभिजन तीन क्रिकेटका लागि नेपाली टोलीको अन्तिम १८ को सूचीमा परेका छन्। प्रशिक्षक दासानायकेले आईपीएल क्लब राजस्थान रोयल्सका ब्याटिङ प्रशिक्षक मोन्टी देसाई र अफगानिस्तानका पूर्वप्रशिक्षक समेत रहेका उमेश पटवालमध्ये एकले प्रशिक्षण दिने जानकारी दिए।
असोज ११ देखि २४ गतेसम्म आरिफ र करणले मुम्बईमा प्रशिक्षण लिनेछन्। 'आरिफ र करण नेपाली क्रिकेटका उदीयमान प्रतिभा हुन्। उनीहरूलाई अझ तिखार्नुपर्छ। यसै कारण मुम्बईमा प्रशिक्षणका लागि पहल गरेको हुँ', दासानायकेले भने।
खेलाडी मुम्बई पठाउनेबारे नेपाल क्रिकेट संघ (क्यान) सँग कुराकानी गर्न बाँकी रहेको उनले बताए। नेपाल एसियाडमा खेलिरहेका बेला आरिफ र करणले मुम्बईमा प्रशिक्षण लिनेछन्। नेपाली मिडियम पेस बलर एकपछि अर्को गरी घाइते भएपछि दासानायकेले सावधानी अपनाएका हुन्। अहिले जितेन्द्र मुखिया, अविनाश कर्ण र अमृत भट्टराई घाइते छन्।
'हाम्रा महत्त्वपूर्ण तीन बलर अहिले घाइते छन्। उनीहरूको विकल्प तयार गर्नु आवश्यक छ। त्यसैले करण र आरिफमाथि जोड दिइएको हो', दासानायकेले भने। आरिफले यसै वर्ष भएको एसीसी प्रिमियर लिगमार्फत सिनियर राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका थिए।
डिभिजन तीनका लागि अन्तिम २४ खेलाडीको सूचीमा परेका अविनाश खेल्न नसक्ने भएपछि प्रशिक्षक दासानायकेले उनको स्थानमा नयाँ खेलाडी करणलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

Wednesday, September 10, 2014

क्‍लबले फसायो ब्राजिलको फुटबल

साओ पाउलो : घरेलु मैदानमै आयोजना भएको विश्‍वकप फुटबलमा ब्राजिलले अत्यन्तै निराशाजनक प्रदर्शन गर्‍यो। विश्‍वकप सुरु हुनुअघि उपाधिको दाबेदारका रूपमा हेरिएको घरेलु टोली जेनतेन सेमिफाइनलसम्म पुग्यो। क्वार्टरफाइनल खेलमा ढाडको हड्‍डी भाँचिएर स्टार स्ट्राइकर नेमार विश्‍वकपबाट बाहिरिएपछि ब्राजिलको अधोगतिको यात्रा सुरु भयो।
धेरै फुटबल विश्‍लेषकको अनुमान विपरीत घरेलु टोली सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भयो। यो हारमा ब्राजिलले थुप्रै नकारात्मक कीर्तिमान पनि बनायो। तेस्रो स्थानका लागि भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि ब्राजिलको प्रदर्शन निराशाजनक रह्यो। उक्त खेलमा घरेलु टोली ३-० गोलले पराजित भयो। उक्त हारपछि प्रशिक्षक लुइज फिलिप स्कोलारीले समेत पदबाट राजीनामा दिइसकेका छन्।
विश्वकपमा खराब प्रदर्शनपछि यतिबेला ब्राजिलियन फुटबलको भविष्यको विषयमा विभिन्‍न टीकाटिप्पणी सुरु भएको छ। विश्लेषकहरूले सर्वाधिक पाँचपटकको विश्वकप विजेता ब्राजिलको फुटबलमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। विश्‍वभर ब्राजिललाई फुटबलको पर्यायको रूपमा लिने गरिन्छ, तर यतिबेला त्यही फुटबल राष्ट्र इतिहासकै कठिन मोडबाट अघि बढिरहेको छ।
जिको, रोनाल्डोलगायतका ब्राजिलकै पूर्वखेलाडी पनि अहिले राष्ट्रिय फुटबलमा व्यापक सुधारको खाँचो रहेको बताइरहेका छन्। आगामी दिनमा नेमार र ओस्कारसँगै नयाँ खेलाडी उत्पादनमा ध्यान दिइनुपर्ने उनीहरूको सुझाव छ।वर्तमान ब्राजिलियन फुटबलका आशा नेमार पनि विश्‍वकपमा आफ्नो टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेको बताउँछन्। 'हामी असफल भयौं। हामीले धेरैको विश्‍वासमा तुषारापात गर्‍यौं', नेमार भन्छन्, 'हामीले विश्‍वकपमा ब्राजिलको टोली खेल्दै छ भन्‍ने भानसम्म गराउन सकेनौं।'
यसपटकको विश्‍वकपमा ब्राजिलले आफ्नो परम्परागत पहिचान 'जोगो बोनिटो' अर्थात् 'सुन्दर खेल' को भावनामा समेत दाग लगायो। घरेलु मैदानमै विश्‍वकप खेल्ने अवसर पाए पनि ब्राजिलले तीन जित, दुई बराबरी र दुई हारको खराब नतिजा निकाल्यो।
'हामी फेरि आफ्नो पुरानै लयमा फर्कन सक्छौं, तर त्यसका लागि युवास्तरदेखि नै फुटबलको स्तर सुधार्नु आवश्यक छ', राष्ट्रिय टोलीका खेलाडी डानी आल्भेस भन्छन्। उनले ब्राजिलियन फुटबल संरचनागत परिवर्तन पनि आवश्यक रहेको धारणा व्यक्त गरे।
ब्राजिलका खेलकुदमन्त्री एल्डो रेबेलो भने ब्राजिलका युवा खेलाडी युरोपियन फुटबलको मोहमा फसेकाले यस्तो अवस्था सृजना भएको आरोप लगाउँछन्। 'ब्राजिलका युवा खेलाडीमा युरोपियन क्लबप्रतिको मोह बढी छ। युरोपियन क्लबहरू सानो उमेरमै खेलाडीलाई लैजान्छन् र यसका लागि खेलाडीको परिवारलाई समेत प्रलोभनमा पार्ने गरेका गछन्', रेबेलो भन्छन्, 'एकप्रकारले यो युरोपका ठूला क्लबले चलाएको फुटबल उपनिवेशवाद हो।'
ब्राजिल फुटबल महासंघका अध्यक्ष जोसे मारिया मारिन पनि विश्‍वकपमा आफ्नो टोलीले लज्जाजनक प्रदर्शन गरेको स्विकार्छन्। 'विश्‍वकपमा हामीले गरेको प्रदर्शन नर्कतिरको यात्रा जस्तै हो', उनी भन्छन्। अध्यक्ष मारिन मात्र होइन, ब्राजिलका चर्चित प्रशिक्षक पाउलो आउटोरी पनि राष्ट्रिय टोलीको प्रदर्शनबाट निकै खिन्न छन्। उनले ब्राजिलको फुटबल महासंघमा समेत सुधारको खाँचो रहेको टिप्पणी गरे। पाउलोकै प्रशिक्षकत्वमा ब्राजिलियन क्लब साओ पाउलोले सन् २००५ मा क्लब विश्वकप फुटबलको उपाधि जितेको थियो।
ब्राजिलका पूर्वखेलाडी जिको पनि राष्ट्रिय फुटबल संघको कार्यशैली र युवा फुटबलर उत्पादन गर्ने संरचनामै समस्या रहेको बताउँछन्। 'प्रशिक्षक परिवर्तन मात्र समस्याको समाधान होइन, यहाँ त संघको कार्यशैली र युवा खेलाडी उत्पादन गर्ने संरचनामा समेत समस्या छ', उनी भन्छन्। -एजेन्सी

    Tuesday, September 9, 2014

    कतार विश्‍वकपका लागि फिफाका दुई विकल्प

    जुरिच : विश्‍व फुटबल महासंघ (फिफा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्‍वकपका लागि जनवरी वा नोभेम्बर उपयुक्त समय हुनसक्ने विकल्प अघि सारेको छ। यसअघिको विश्वकप फुटबल भने जुन र जुलाईमा आयोजना हुने गरेको थियो।
    कतारमा जुन र जुलाईमा विश्‍वकप आयोजना गर्दा अत्यधिक गर्मी हुने भएकाले आयोजना स्थल वा प्रतियोगिता मिति परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्दै आएको छ। खासगरी युरोपेली राष्ट्रहरूले कतार विश्‍वकपको विरोध गर्दै आएका छन्।
    'परम्परागत समयमै कतारमा विश्‍वकप आयोजना गर्दा चर्को तापक्रमले समस्या उत्पन्न हुनसक्ने भएकाले जनवरी वा नोभेम्बरलाई यसको विकल्पका रूपमा लिन सकिन्छ', फिफाले भनेको छ। आगामी मार्चमा स्विट्जरल्यान्डको जुरिचमा बस्ने फिफा कार्यसमितिको बैठकले कतार विश्वकपको मिति तय गर्नेछ।
    फिफाले सन् २०२२ को विश्‍वकप जनवरी र फेब्रुअरीमा आयोजना गर्ने निर्णय लियो भने सोही वर्ष हुने शीतकालीन ओलम्पिकको खेलतालिका परिवर्तन गर्नुपर्ने हुन्छ। परम्परागत रूपमा शीतकालीन ओलम्पिक पनि फेब्रुअरी महिनामै आयोजना हुने गरेको छ।
    फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बीच विश्वकप फुटबल र ओलम्पिक खेलकुद एउटै समयमा नपार्ने सहमति भएको छ। आईओसीका अध्यक्ष थोमस ब्याचले यसअघि नै फिफा अध्यक्ष सेप ब्लाटरले यी दुवै ठूला प्रतियोगिता एउटै समयमा नपार्ने प्रतिबद्धता आफूसँग व्यक्त गरिसकेको बताएका छन्।
    यसैगरी फिफा अध्यक्षले पनि जुन र जुलाईमा कतारको चर्को गर्मीमा विश्‍वकप हुन नसक्‍ने धारणा व्यक्त गर्दै आएका छन्। अर्कोतिर कतार विश्‍वकप आयोजक समितिले भने परम्परागत समयमै विश्‍वकप आयोजना गर्दा पनि त्यसले कुनै असर नपार्ने दाबी गर्दै आएको छ। आयोजक समितिका अनुसार कतार विश्‍वकपका सबै खेल वातानुकूलित रंगशालामा खेलाइने भएकाले गर्मीले कुनै असर पार्नेछैन।
    कतार विश्‍वकपको मिति निर्धारण गर्नुअघि फिफाले आगामी नोभेम्बरमा स्थानीय आयोजकसँग पनि छलफल गर्ने भएको छ। फिफा र कतार विश्‍वकप आयोजक समितिका पदाधिकारीबीच अन्तिम बैठक भने आगामी फेब्रुअरीमा हुने समाचारमा जनाइएको छ।
    विश्वकप फुटबलको मितिले विभिन्‍न युरोपेली लिगको तालिकालाई समेत प्रभावित पार्ने भएकाले पनि यथाशीघ्र मिति तय गर्न फिफामाथि चर्को दबाब पर्दै आएको छ। कतार भने यतिबेला सन् २०२२ को विश्‍वकपको तयारीमा व्यस्त छ। -एजेन्सी

    यू १६ क्रिकेटर नगदसहित सम्मानित

    सम्‍मानित भएपछि नेपाली यू-१६ क्रिकेट टिमका खेलाडी तस्बिर खिचाउँदै। (तस्बीर: रजेन्द्र केसी)
    सम्‍मानित भएपछि नेपाली यू-१६ क्रिकेट टिमका खेलाडी तस्बिर खिचाउँदै।  (तस्बीर: रजेन्द्र केसी)
    काठमाडौं : एसीसी यू १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीलाई सरकारले मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष समारोहमा टोलीका १४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मान गरिएको हो।
    मन्त्रिपरिषद्को भदौ १३ गतेको बैठकले उपाधि विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो। यसअघि टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले पनि जनही २० हजार रुपैयाँसहित सम्मान गरेको थियो।
    खेलाडीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले सम्मान गरेका थिए। सम्मान कार्यक्रममा टोलीका व्यवस्थापक रन्जित तामाङले छोटो तयारीमा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए।
    'युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको आगामी दिन राम्रो हुने संकेत गरेको छ। यस सम्मानले भविष्यमा अझै मेहनत गर्न अग्रसर बनाएको छ। हामी सरकार, क्यान र सम्पूर्ण क्रिकेटप्रेमीलाई धन्यवाद दिन चाहन्छौं', तामाङले भने।
    टोलीका कप्तान सुमित महर्जनले पुरस्कार पाउँदा निकै खुसी लागेको बताए। 'आगामी दिनमा अझै राम्रो गर्ने जोस बढेको छ। हामी सबैले राम्रो खेलेर सिनियर राष्ट्रिय टोलीमा पुग्ने प्रयास गर्नेछौं', सुमितले भने। युवा तथा खेलकुदमन्त्री पौडेलले नेपाली क्रिकेट खेलाडीको प्रदर्शनले राष्ट्रलाई गौरव गर्ने स्थान दिएको बताए।
    'नेपाललाई विशेषगरी आईसीसी टीट्वेन्टी र एसीसी यू १६ प्रिमियर लिग क्रिकेटले धेरै चिनाएको छ। खेलाडीको प्रदर्शनले सरकारलाई क्रिकेटको पूर्वाधार विकासमा लगानी गर्नसमेत उत्साहित बनाएको छ', पौडेलले भने।
    पछिल्लो समय क्रिकेट खेलको विकासका लागि लगानीको वातावरण बने पनि यो लगानी पर्याप्त नभएको मन्त्री पौडेलले बताए। हरेक खेलमा खेलाडीको प्रदर्शन राम्रो भए लगानीका लागि सबै पक्षलाई दबाब पर्ने पौडेलको भनाइ थियो।
    अगस्ट १४ देखि २० तारिखसम्म मलेसियामा आयोजित प्रिमियर लिगका सबै खेलमा अपराजित नेपालले उपाधि जितेको थियो। यस प्रतियोगितासँगै नेपाल उमेरसमूहको हरेक उपाधि जित्ने राष्ट्र बन्‍न सफल भएको थियो।

      Sunday, September 7, 2014

      दसैंका यात्रु: बुकिङ नखुल्दै सकियो टिकट !

      काठमाडौं : सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिकट सकिएको जबाफ पाउन थालेका छन्। यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।
      घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन्। उनले गौशालास्थित एक होटेलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन्। उनका आफन्त सन्तोष पौडेलले झापाकै दमकका लागि टिकट लिन विभिन्‍न बसका काउन्टर पुगे तर पाएनन्।
      त्यसपछि उनले पनि सोही होटेलमार्फत शुक्रबार दुईवटा टिकट लिए। 'दिदीहरू पनि घर जाने भएपछि हामीलाई थप दुईवटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्', उनले भने।
      भक्तपुर बस्दै आएकी इटहरी सुनसरीकी निरू दाहालले फूलपातीका दिनको टिकट बुकिङ गरिसकिन्। नोबल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, 'कोटेश्वरबाट मेट्रो डिलक्समा टिकट पाएँ, केही दिनअघि बुकिङ गरें, अहिले त पाइँदैन रे।'
      रकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।
      कोटेश्‍वरमा काउन्टर रहेको महालक्ष्मी डिलक्समा घटस्थापनादेखि नवमीसम्मका लागि टिकट छैन। काउन्टरका एक कर्मचारीले भने, 'तपाईंलाई चाहिएको भए अर्को गाडी थपिएपछिमात्र पाउनुहुन्छ, पछि आउनोस्।'
      घटस्थापनाको पर्सिपल्ट घर जान टिकट खोज्दै कोटेश्वरस्थित साकिरा यातायातको कार्यालय पुगेका धर्मराज कार्कीले भने, 'साकिराका पूर्वाञ्चलका लागि झन्डै डेढ दर्जन बस छन्। तर मैले कुनै पनि गाडीको टिकट पाइनँ।'
      सुन्धारास्थित प्रिन्स डिलक्सका कर्मचारीले सुन्धारा काउन्टरबाट पूर्वका लागि सबै टिकट बिक्री भइसकेको बताउँदै अन्य काउन्टरमा गएर टिकट खोज्न सल्लाह दिए। अग्नि र मकालु यातायातले भने २५ गतेअघि टिकट बिक्री नगर्ने जानकारी दिए।
      कोटेश्वरस्थित काउन्टरका एक कर्मचारीले भने, '२५ गतेदेखि टिकट बिक्री गर्ने भने पनि यात्रु आएपछि टिकट दिएका हौं। यात्रुको चाप अधिक भएकाले थेग्न कठिन भयो।'
      मध्यपश्‍चिम र सुदूरपश्‍चिममतिर जाने बसले भने टिकट बिक्री गरेका छैनन्। डोटी सिलगढीका लागि टिकट खोज्न सुन्धारा पुगेका कालोपुल बस्ने राजीव बोगटीले भने, 'अघिल्ला दुई वर्ष मुढा र एक वर्ष बुनोटमा बसेर अत्यन्तै दु:खले घर पुगें। त्यसैले यसपालि चाँडै टिकट खोज्न आएको हुँ।'
      नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव शरद सिटौलाले बुकिङ खुला हुनुअघि टिकट बेच्नु सम्बन्धित यातायात व्यवसायीको कुरो भएको बताए। उनले भने, 'एउटा आधार खडा गरिएको हो, सबैले मानिदिए राम्रो।'
      उनका अनुसार दसैंको मुखमा थानकोट, कोटेश्वर, बालाजु र बल्खु गरी चार नाकाबाट बाहिरिनेको यात्रुको संख्या यसपटक ३५ लाखभन्दा बढी हुन्छ। उनले भने, 'त्यसको सहज व्यवस्थापनका लागि महासंघले मात्रै सक्दैन।' सिटौलाले फूलपातीदेखि तीन दिन दैनिक तीन हजार पाँच सय बस उपत्यकाबाट बाहिरिने बताए।
      यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले भने, '२५ गतेअगाडि नै टिकट बिक्री भएको जानकारी आएको छ। यसबारे महासंघ र प्रहरीसँग समन्वय गरेर यथार्थ बुझी कारबाही प्रक्रिया अघि बढाउँछौं।'

      विभागमा सक्‍कली, अध्‍यागमनमा नक्‍कली भिसा

      काठमाडौं : वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेको छ। ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईमा फ्युचर पाइप इन्डस्ट्रीमा काम गर्न पठाउन लागेको थियो।
      वैदेशिक रोजगार विभागले सक्कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति दिएको थियो। त्यही स्वीकृतिका आधारमा जान लागेका युवालाई विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतले भने फिर्ता गरिदिए।
      ती युवाले बोर्डिङ पास पाइसकेपछि अध्यागमनका कर्मचारीले भिसा परीक्षण गरेका थिए। परीक्षण गर्दा सक्कली कागज नभएको र इन्टरनेटमा हेर्दासमेत सक्‍कली भिसाको रेकर्ड नपाएपछि जान रोकेको अध्यागमनका उपसचिव रामराज सुवेदीले बताए। वैदेशिक रोजगार विभागले सक्‍कली भिसा नभएसम्म अन्तिम श्रम स्वीकृति दिन मिल्दैन।
      वैदेशिक रोजगार विभागले भने सक्‍कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन अन्तिम श्रम स्वीकृति दिएको थियो।
      एसओएसले फिर्ता भएका कामदारको अन्तिम श्रम स्वीकृति लिने बेलामा सक्कली भिसा पेस गरेको थिएन। एसओएस म्यानपावर कम्पनीका प्रबन्धनिर्देशक सोमलाल बाटाजूले सक्कली भिसा कागजबेगरै वैदेशिक रोजगार विभागले इन्टरनेट रेकर्डका आधारमा अन्तिम श्रम स्वीकृति दिएको बताए।
      वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीबहादुर कार्कीले अन्तिम श्रम स्वीकृतिका लागि सक्कली भिसा अनिवार्य हुने बताए। उनले भने, 'सक्कली भिसाको कागज नआई कसैले पनि अन्तिम श्रम स्वीकृति पाउँदैन।'
      वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयको समन्वय नहुँदा व्यवसायीको धेरै रकम डुबेको बटाजूले बताए। एसओएसले कामदार जान नपाएपछि टिकट र सक्कली भिसा पेपर दुबईस्थित कम्पनीबाट मगाएको छ।
      यसरी फिर्ता गरिएका युवामा नवलपरासीका आनन्दराज शर्मा, सुनसरीका अनिलकुमार चौधरी, विष्णुप्रसाद दंगाल, सबिर हुसेन, सोनी तामाङ, कपिलवस्तुका ध्रुव पौडेल, उदयपुरका घनश्याम खत्री र टंकबहादुर रावत, संखुवासभाका गोविन्द खड्का र अर्घाखाँचीका माधवप्रसाद खनाल छन्।
      त्यस्तै नुवाकोटका मीनबहादुर पण्डित, पर्साका रविकुमार श्रेष्ठ, ओखलढुंगाका हरिनारायण श्रेष्ठ, मोरङका राजन राई, रोल्पाका रामबहादुर महरा क्षेत्री, चितवनका रोशन चौधरी, रूपन्देहीका शम्भु न्यौपाने, भोजपुरका रेशमदेव राई, कास्कीका जयबहादुर विक र सिन्धुलीका खिमबहादुर सुनवार पनि दुबई जान रोकिएका छन्।