Wednesday, September 10, 2014

क्‍लबले फसायो ब्राजिलको फुटबल

साओ पाउलो : घरेलु मैदानमै आयोजना भएको विश्‍वकप फुटबलमा ब्राजिलले अत्यन्तै निराशाजनक प्रदर्शन गर्‍यो। विश्‍वकप सुरु हुनुअघि उपाधिको दाबेदारका रूपमा हेरिएको घरेलु टोली जेनतेन सेमिफाइनलसम्म पुग्यो। क्वार्टरफाइनल खेलमा ढाडको हड्‍डी भाँचिएर स्टार स्ट्राइकर नेमार विश्‍वकपबाट बाहिरिएपछि ब्राजिलको अधोगतिको यात्रा सुरु भयो।
धेरै फुटबल विश्‍लेषकको अनुमान विपरीत घरेलु टोली सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भयो। यो हारमा ब्राजिलले थुप्रै नकारात्मक कीर्तिमान पनि बनायो। तेस्रो स्थानका लागि भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि ब्राजिलको प्रदर्शन निराशाजनक रह्यो। उक्त खेलमा घरेलु टोली ३-० गोलले पराजित भयो। उक्त हारपछि प्रशिक्षक लुइज फिलिप स्कोलारीले समेत पदबाट राजीनामा दिइसकेका छन्।
विश्वकपमा खराब प्रदर्शनपछि यतिबेला ब्राजिलियन फुटबलको भविष्यको विषयमा विभिन्‍न टीकाटिप्पणी सुरु भएको छ। विश्लेषकहरूले सर्वाधिक पाँचपटकको विश्वकप विजेता ब्राजिलको फुटबलमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। विश्‍वभर ब्राजिललाई फुटबलको पर्यायको रूपमा लिने गरिन्छ, तर यतिबेला त्यही फुटबल राष्ट्र इतिहासकै कठिन मोडबाट अघि बढिरहेको छ।
जिको, रोनाल्डोलगायतका ब्राजिलकै पूर्वखेलाडी पनि अहिले राष्ट्रिय फुटबलमा व्यापक सुधारको खाँचो रहेको बताइरहेका छन्। आगामी दिनमा नेमार र ओस्कारसँगै नयाँ खेलाडी उत्पादनमा ध्यान दिइनुपर्ने उनीहरूको सुझाव छ।वर्तमान ब्राजिलियन फुटबलका आशा नेमार पनि विश्‍वकपमा आफ्नो टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेको बताउँछन्। 'हामी असफल भयौं। हामीले धेरैको विश्‍वासमा तुषारापात गर्‍यौं', नेमार भन्छन्, 'हामीले विश्‍वकपमा ब्राजिलको टोली खेल्दै छ भन्‍ने भानसम्म गराउन सकेनौं।'
यसपटकको विश्‍वकपमा ब्राजिलले आफ्नो परम्परागत पहिचान 'जोगो बोनिटो' अर्थात् 'सुन्दर खेल' को भावनामा समेत दाग लगायो। घरेलु मैदानमै विश्‍वकप खेल्ने अवसर पाए पनि ब्राजिलले तीन जित, दुई बराबरी र दुई हारको खराब नतिजा निकाल्यो।
'हामी फेरि आफ्नो पुरानै लयमा फर्कन सक्छौं, तर त्यसका लागि युवास्तरदेखि नै फुटबलको स्तर सुधार्नु आवश्यक छ', राष्ट्रिय टोलीका खेलाडी डानी आल्भेस भन्छन्। उनले ब्राजिलियन फुटबल संरचनागत परिवर्तन पनि आवश्यक रहेको धारणा व्यक्त गरे।
ब्राजिलका खेलकुदमन्त्री एल्डो रेबेलो भने ब्राजिलका युवा खेलाडी युरोपियन फुटबलको मोहमा फसेकाले यस्तो अवस्था सृजना भएको आरोप लगाउँछन्। 'ब्राजिलका युवा खेलाडीमा युरोपियन क्लबप्रतिको मोह बढी छ। युरोपियन क्लबहरू सानो उमेरमै खेलाडीलाई लैजान्छन् र यसका लागि खेलाडीको परिवारलाई समेत प्रलोभनमा पार्ने गरेका गछन्', रेबेलो भन्छन्, 'एकप्रकारले यो युरोपका ठूला क्लबले चलाएको फुटबल उपनिवेशवाद हो।'
ब्राजिल फुटबल महासंघका अध्यक्ष जोसे मारिया मारिन पनि विश्‍वकपमा आफ्नो टोलीले लज्जाजनक प्रदर्शन गरेको स्विकार्छन्। 'विश्‍वकपमा हामीले गरेको प्रदर्शन नर्कतिरको यात्रा जस्तै हो', उनी भन्छन्। अध्यक्ष मारिन मात्र होइन, ब्राजिलका चर्चित प्रशिक्षक पाउलो आउटोरी पनि राष्ट्रिय टोलीको प्रदर्शनबाट निकै खिन्न छन्। उनले ब्राजिलको फुटबल महासंघमा समेत सुधारको खाँचो रहेको टिप्पणी गरे। पाउलोकै प्रशिक्षकत्वमा ब्राजिलियन क्लब साओ पाउलोले सन् २००५ मा क्लब विश्वकप फुटबलको उपाधि जितेको थियो।
ब्राजिलका पूर्वखेलाडी जिको पनि राष्ट्रिय फुटबल संघको कार्यशैली र युवा फुटबलर उत्पादन गर्ने संरचनामै समस्या रहेको बताउँछन्। 'प्रशिक्षक परिवर्तन मात्र समस्याको समाधान होइन, यहाँ त संघको कार्यशैली र युवा खेलाडी उत्पादन गर्ने संरचनामा समेत समस्या छ', उनी भन्छन्। -एजेन्सी

    No comments:

    Post a Comment