Tuesday, September 9, 2014

यू १६ क्रिकेटर नगदसहित सम्मानित

सम्‍मानित भएपछि नेपाली यू-१६ क्रिकेट टिमका खेलाडी तस्बिर खिचाउँदै। (तस्बीर: रजेन्द्र केसी)
सम्‍मानित भएपछि नेपाली यू-१६ क्रिकेट टिमका खेलाडी तस्बिर खिचाउँदै।  (तस्बीर: रजेन्द्र केसी)
काठमाडौं : एसीसी यू १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीलाई सरकारले मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष समारोहमा टोलीका १४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रबाट सम्मान गरिएको हो।
मन्त्रिपरिषद्को भदौ १३ गतेको बैठकले उपाधि विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो। यसअघि टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले पनि जनही २० हजार रुपैयाँसहित सम्मान गरेको थियो।
खेलाडीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले सम्मान गरेका थिए। सम्मान कार्यक्रममा टोलीका व्यवस्थापक रन्जित तामाङले छोटो तयारीमा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए।
'युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको आगामी दिन राम्रो हुने संकेत गरेको छ। यस सम्मानले भविष्यमा अझै मेहनत गर्न अग्रसर बनाएको छ। हामी सरकार, क्यान र सम्पूर्ण क्रिकेटप्रेमीलाई धन्यवाद दिन चाहन्छौं', तामाङले भने।
टोलीका कप्तान सुमित महर्जनले पुरस्कार पाउँदा निकै खुसी लागेको बताए। 'आगामी दिनमा अझै राम्रो गर्ने जोस बढेको छ। हामी सबैले राम्रो खेलेर सिनियर राष्ट्रिय टोलीमा पुग्ने प्रयास गर्नेछौं', सुमितले भने। युवा तथा खेलकुदमन्त्री पौडेलले नेपाली क्रिकेट खेलाडीको प्रदर्शनले राष्ट्रलाई गौरव गर्ने स्थान दिएको बताए।
'नेपाललाई विशेषगरी आईसीसी टीट्वेन्टी र एसीसी यू १६ प्रिमियर लिग क्रिकेटले धेरै चिनाएको छ। खेलाडीको प्रदर्शनले सरकारलाई क्रिकेटको पूर्वाधार विकासमा लगानी गर्नसमेत उत्साहित बनाएको छ', पौडेलले भने।
पछिल्लो समय क्रिकेट खेलको विकासका लागि लगानीको वातावरण बने पनि यो लगानी पर्याप्त नभएको मन्त्री पौडेलले बताए। हरेक खेलमा खेलाडीको प्रदर्शन राम्रो भए लगानीका लागि सबै पक्षलाई दबाब पर्ने पौडेलको भनाइ थियो।
अगस्ट १४ देखि २० तारिखसम्म मलेसियामा आयोजित प्रिमियर लिगका सबै खेलमा अपराजित नेपालले उपाधि जितेको थियो। यस प्रतियोगितासँगै नेपाल उमेरसमूहको हरेक उपाधि जित्ने राष्ट्र बन्‍न सफल भएको थियो।

    No comments:

    Post a Comment