Thursday, September 11, 2014

दुई ठूला प्रतियोगिताको तयारीमा व्यस्त नेपाली क्रिकेट मिति : २०७१ भदौ, २६ बिहीबार [2349 पटक पढिएको] - See more at: http://www.annapurnapost.com/en/news/sports/13542/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%A0%E0%A5%82%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%9F.htm#sthash.EG6B8lqb.dpuf

काठमाडौं : नेपाली पुरुष क्रिकेट टोलीको प्रशिक्षण समाल्न दुई साताअघि काठमाडौं आइपुगेका पुबुदु दासानायकेले आफ्नो पहिलो प्राथमिकता आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन भएको बताएका थिए। नेपाली क्रिकेटको भविष्यका लागि डिभिजन तीनको महत्त्व उनले बुझेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा माथिल्लो स्तरको प्रतियोगिता खेल्न डिभिजन तीन अर्थपूर्ण छ। 'डिभिजन तीनपछि डिभिजन दुई प्राथमिकतामा छ। त्यसैले अबको ६/७ महिना हामीले निकै मेहनत गर्नुपर्ने छ। यसबीचमा हामीले कन्जुस्याइँ गर्‍यौं भने तीनचार वर्ष पछाडि पर्नेछौं', नेपाल आगमनकै क्रममा पुबुदुले भनेका थिए।
डिभिजन तीनभन्दा सुरु हुनुअघि नेपाली टोली दक्षिण कोरियाको इन्चोनमा अर्को महिना एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ। यतिबेला दासानायकेको ध्यान पनि एसियाडमै केन्द्रित छ। उनले यो प्रतियोगिताको महत्त्व पनि बुझेका छन्।
नेपालले केही महिनाअघि खेलेको आईसीसी टीट्वेन्टी विश्‍वकपमा गतिलो प्रदर्शन गरेपछि टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। यो ऐतिहासिक सफलतापछि नेपालले हालसम्म टीट्वेन्टी प्रतियोगिता खेल्ने अवसर पाएको छैन। त्यसयता आगामी एसियाड नै नेपालको पहिलो टीट्वेन्टी सहभागिता हुनेछ।
एसियामा टेस्ट मान्यताप्राप्त टोली पनि सहभागी हुनेछन्। आईसीसीले विशेष व्यवस्था गरेर प्रदान गरेको टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यतालाई प्रभावशाली प्रदर्शन गरेर न्याय गर्नुपर्ने चुनौती नेपालसामु छ।
प्रशिक्षक पुबुदुले पनि एसियाडमा नेपाल फाइनलसम्म पुग्ने सम्भावना देखेका छन्। समूह 'बी' मा रहेको नेपालले पहिलो चरणमा कुवेत र मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
समूहको विजेता बन्न सके नेपालले क्वार्टरफाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा उपविजेता बन्यो भने क्वार्टरफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाउनेछ। अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्न सके नेपालले अन्तिम चारमा पनि एसोसिएट टोलीसँग खेल्नु पर्नेछ।
'पहिलो चरणमा समूह विजेता बन्न सके फाइनलमा मात्र टेस्ट टोलीसँग खेल्नुपर्ने हुन्छ', एसियाडको तयारीमा व्यस्त दासानायकेले भने। नेपालले टीट्वेन्टीमा एसियाका सबै एसोसिएट राष्ट्रलाई हराइसकेको छ।
एसियाडमा प्राप्त हुने सफलताले डिभिजन तीनका लागि टोलीको मनोबल समेत उच्च बनाउनेछ। आगामी एसियाड असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। क्रिकेटका खेल असोज ११ देखि १७ गतेसम्म चल्नेछ।
डिभिजन तीन भने कात्तिक ९ गतेदेखि युगान्डामा सुरु हुँदै छ। अहिले ५० ओभर स्वरूपको डिभिजन तीन र २० ओभर स्वरूपको एसियाडका लागि नेपालले एकसाथ तयारी गरिरहेको छ।
डेढ साताअघि प्रशिक्षण सुरु गरेका दासानायकेले इन्डोर अभ्यास र अभ्यास खेलमार्फत टोलीलाई तयार पारिरहेका छन्। उनले टोलीले सही आकार लिइरहेको बताए। 'टोलीका सबै खेलाडी फिट हुनुपर्छ र त्यसका लागि हामी प्रयास गरिरहेका छौं।
हरेक खेलाडीले मिहिनेत गरिरहेका छन् र मैले अपेक्षा गरेअनुसार भइरहेको छ', दासानायकेले भने। उनले मिडयिम पेस बलिङमा समस्या भएको बताए। 
'हाम्रो स्पिन यसपटक पनि राम्रो हुनेछ, तर मिडियस पेसमा जितेन्द्र घाइते भएकाले केही समस्या छ', दासानायकेको भनाइ छ।
कप्तान पारस खड्का पनि टोलीले एसियाडमा राम्रो गर्ने बताउँछन्। 'सबै खेलाडी राम्रो गर्न प्रयासरत छन्। हाम्रा खेलाडीमा पनि उच्चस्तरको क्षमता छ', पारस भन्छन्। एसियाड क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो।
यसअघि सन् २०१० मा चीनमा भएको एसियाडमा क्रिकेटलाई पहिलोपटक समावेश गरिएको थियो। नेपाली पुरु ष क्रिकेट टोलीले त्यतिबेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
आरिफ र करण भारत जाने
नेपाली मिडियम पेस बलर आरिफ शेख र करण केसीले भारतको मुम्बईमा दुई साता प्रशिक्षण लिने भएका छन्। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले अलराउन्डर आरिफ र नयाँ खेलाडी करणका लागि भारतमा अनुभवी प्रशिक्षकसँग प्रशिक्षणको व्यवस्था मिलाएका हुन्।
आरिफ र करण दुवै डिभिजन तीन क्रिकेटका लागि नेपाली टोलीको अन्तिम १८ को सूचीमा परेका छन्। प्रशिक्षक दासानायकेले आईपीएल क्लब राजस्थान रोयल्सका ब्याटिङ प्रशिक्षक मोन्टी देसाई र अफगानिस्तानका पूर्वप्रशिक्षक समेत रहेका उमेश पटवालमध्ये एकले प्रशिक्षण दिने जानकारी दिए।
असोज ११ देखि २४ गतेसम्म आरिफ र करणले मुम्बईमा प्रशिक्षण लिनेछन्। 'आरिफ र करण नेपाली क्रिकेटका उदीयमान प्रतिभा हुन्। उनीहरूलाई अझ तिखार्नुपर्छ। यसै कारण मुम्बईमा प्रशिक्षणका लागि पहल गरेको हुँ', दासानायकेले भने।
खेलाडी मुम्बई पठाउनेबारे नेपाल क्रिकेट संघ (क्यान) सँग कुराकानी गर्न बाँकी रहेको उनले बताए। नेपाल एसियाडमा खेलिरहेका बेला आरिफ र करणले मुम्बईमा प्रशिक्षण लिनेछन्। नेपाली मिडियम पेस बलर एकपछि अर्को गरी घाइते भएपछि दासानायकेले सावधानी अपनाएका हुन्। अहिले जितेन्द्र मुखिया, अविनाश कर्ण र अमृत भट्टराई घाइते छन्।
'हाम्रा महत्त्वपूर्ण तीन बलर अहिले घाइते छन्। उनीहरूको विकल्प तयार गर्नु आवश्यक छ। त्यसैले करण र आरिफमाथि जोड दिइएको हो', दासानायकेले भने। आरिफले यसै वर्ष भएको एसीसी प्रिमियर लिगमार्फत सिनियर राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका थिए।
डिभिजन तीनका लागि अन्तिम २४ खेलाडीको सूचीमा परेका अविनाश खेल्न नसक्ने भएपछि प्रशिक्षक दासानायकेले उनको स्थानमा नयाँ खेलाडी करणलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

No comments:

Post a Comment