Sunday, September 7, 2014

विभागमा सक्‍कली, अध्‍यागमनमा नक्‍कली भिसा

काठमाडौं : वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेको छ। ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईमा फ्युचर पाइप इन्डस्ट्रीमा काम गर्न पठाउन लागेको थियो।
वैदेशिक रोजगार विभागले सक्कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति दिएको थियो। त्यही स्वीकृतिका आधारमा जान लागेका युवालाई विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतले भने फिर्ता गरिदिए।
ती युवाले बोर्डिङ पास पाइसकेपछि अध्यागमनका कर्मचारीले भिसा परीक्षण गरेका थिए। परीक्षण गर्दा सक्कली कागज नभएको र इन्टरनेटमा हेर्दासमेत सक्‍कली भिसाको रेकर्ड नपाएपछि जान रोकेको अध्यागमनका उपसचिव रामराज सुवेदीले बताए। वैदेशिक रोजगार विभागले सक्‍कली भिसा नभएसम्म अन्तिम श्रम स्वीकृति दिन मिल्दैन।
वैदेशिक रोजगार विभागले भने सक्‍कली भिसा भन्दै ती युवालाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन अन्तिम श्रम स्वीकृति दिएको थियो।
एसओएसले फिर्ता भएका कामदारको अन्तिम श्रम स्वीकृति लिने बेलामा सक्कली भिसा पेस गरेको थिएन। एसओएस म्यानपावर कम्पनीका प्रबन्धनिर्देशक सोमलाल बाटाजूले सक्कली भिसा कागजबेगरै वैदेशिक रोजगार विभागले इन्टरनेट रेकर्डका आधारमा अन्तिम श्रम स्वीकृति दिएको बताए।
वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीबहादुर कार्कीले अन्तिम श्रम स्वीकृतिका लागि सक्कली भिसा अनिवार्य हुने बताए। उनले भने, 'सक्कली भिसाको कागज नआई कसैले पनि अन्तिम श्रम स्वीकृति पाउँदैन।'
वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयको समन्वय नहुँदा व्यवसायीको धेरै रकम डुबेको बटाजूले बताए। एसओएसले कामदार जान नपाएपछि टिकट र सक्कली भिसा पेपर दुबईस्थित कम्पनीबाट मगाएको छ।
यसरी फिर्ता गरिएका युवामा नवलपरासीका आनन्दराज शर्मा, सुनसरीका अनिलकुमार चौधरी, विष्णुप्रसाद दंगाल, सबिर हुसेन, सोनी तामाङ, कपिलवस्तुका ध्रुव पौडेल, उदयपुरका घनश्याम खत्री र टंकबहादुर रावत, संखुवासभाका गोविन्द खड्का र अर्घाखाँचीका माधवप्रसाद खनाल छन्।
त्यस्तै नुवाकोटका मीनबहादुर पण्डित, पर्साका रविकुमार श्रेष्ठ, ओखलढुंगाका हरिनारायण श्रेष्ठ, मोरङका राजन राई, रोल्पाका रामबहादुर महरा क्षेत्री, चितवनका रोशन चौधरी, रूपन्देहीका शम्भु न्यौपाने, भोजपुरका रेशमदेव राई, कास्कीका जयबहादुर विक र सिन्धुलीका खिमबहादुर सुनवार पनि दुबई जान रोकिएका छन्।

No comments:

Post a Comment