Tuesday, September 9, 2014

कतार विश्‍वकपका लागि फिफाका दुई विकल्प

जुरिच : विश्‍व फुटबल महासंघ (फिफा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्‍वकपका लागि जनवरी वा नोभेम्बर उपयुक्त समय हुनसक्ने विकल्प अघि सारेको छ। यसअघिको विश्वकप फुटबल भने जुन र जुलाईमा आयोजना हुने गरेको थियो।
कतारमा जुन र जुलाईमा विश्‍वकप आयोजना गर्दा अत्यधिक गर्मी हुने भएकाले आयोजना स्थल वा प्रतियोगिता मिति परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्दै आएको छ। खासगरी युरोपेली राष्ट्रहरूले कतार विश्‍वकपको विरोध गर्दै आएका छन्।
'परम्परागत समयमै कतारमा विश्‍वकप आयोजना गर्दा चर्को तापक्रमले समस्या उत्पन्न हुनसक्ने भएकाले जनवरी वा नोभेम्बरलाई यसको विकल्पका रूपमा लिन सकिन्छ', फिफाले भनेको छ। आगामी मार्चमा स्विट्जरल्यान्डको जुरिचमा बस्ने फिफा कार्यसमितिको बैठकले कतार विश्वकपको मिति तय गर्नेछ।
फिफाले सन् २०२२ को विश्‍वकप जनवरी र फेब्रुअरीमा आयोजना गर्ने निर्णय लियो भने सोही वर्ष हुने शीतकालीन ओलम्पिकको खेलतालिका परिवर्तन गर्नुपर्ने हुन्छ। परम्परागत रूपमा शीतकालीन ओलम्पिक पनि फेब्रुअरी महिनामै आयोजना हुने गरेको छ।
फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) बीच विश्वकप फुटबल र ओलम्पिक खेलकुद एउटै समयमा नपार्ने सहमति भएको छ। आईओसीका अध्यक्ष थोमस ब्याचले यसअघि नै फिफा अध्यक्ष सेप ब्लाटरले यी दुवै ठूला प्रतियोगिता एउटै समयमा नपार्ने प्रतिबद्धता आफूसँग व्यक्त गरिसकेको बताएका छन्।
यसैगरी फिफा अध्यक्षले पनि जुन र जुलाईमा कतारको चर्को गर्मीमा विश्‍वकप हुन नसक्‍ने धारणा व्यक्त गर्दै आएका छन्। अर्कोतिर कतार विश्‍वकप आयोजक समितिले भने परम्परागत समयमै विश्‍वकप आयोजना गर्दा पनि त्यसले कुनै असर नपार्ने दाबी गर्दै आएको छ। आयोजक समितिका अनुसार कतार विश्‍वकपका सबै खेल वातानुकूलित रंगशालामा खेलाइने भएकाले गर्मीले कुनै असर पार्नेछैन।
कतार विश्‍वकपको मिति निर्धारण गर्नुअघि फिफाले आगामी नोभेम्बरमा स्थानीय आयोजकसँग पनि छलफल गर्ने भएको छ। फिफा र कतार विश्‍वकप आयोजक समितिका पदाधिकारीबीच अन्तिम बैठक भने आगामी फेब्रुअरीमा हुने समाचारमा जनाइएको छ।
विश्वकप फुटबलको मितिले विभिन्‍न युरोपेली लिगको तालिकालाई समेत प्रभावित पार्ने भएकाले पनि यथाशीघ्र मिति तय गर्न फिफामाथि चर्को दबाब पर्दै आएको छ। कतार भने यतिबेला सन् २०२२ को विश्‍वकपको तयारीमा व्यस्त छ। -एजेन्सी

No comments:

Post a Comment